दैवले रचेको यो कहालीलाग्दो विपत्तिले 

आज हाम्रो मन रोएको छ।

हेर्दाहेर्दै कयौँ बास, गास र सपनाहरू

उर्लिएको बहावसँगै समेटिए,

सयौँ प्राणहरू सदाका लागि हराए,

हजारौँ आँखाका आँसुका डोब रोपिए।।


विरक्त क्रिडाले शब्दहरूलाई मौन बनाउछ,

मनलाई पटक पटक चिर्छ,

हरेक सम्झनालाई

हृदयविदारक बनाउछ ।।


तापनि हामी गलेका छैनौँ, 

हामी झुक्ने पनि छैनौँ

हाम्रो बाटो रोक्न सक्छ, 

हजारौँ पीडा मनभित्र दबाएर पनि ,

फेरि मुस्कुराउनेछौ ।।


हामीमा अँध्यारोबाट उज्यालो खोज्ने जागर अझै छ, 

जिम्मेवारीका भारी बोक्ने जागर अझै छ,

हामी जुट्नेछौ

हामी उठ्नेछौं

फेरि आफ्नो परिवेश बनाउनेछौँ,

फेरि मुस्कुराउनेछौँ ।।


हारेका मानेका छैनौँ

विपत्तिले हाम्रो सबै थोक सकेर,

सपना केही समयका लागि पुरिन सक्छ, 

विरक्तिएका गोडाहरु

एक छिन रोकिन सक्छ।।


तर हाम्रो साहसलाई कहिल्यै पुर्न सक्नेछैन

हामी जति रोए पनि, अवश्य आँसु पुछेर भएपनि

एकअर्काको हात समाएरै भएपनि अवश्य उठनेछौँ

नयाँ बाटो बनाउनकै लागी भएपनि जरुर उठनेछौँ।।


हामी नेपाली हौँ,

हामीसँग पीडाबाट उठ्ने साहस कायमै छ,

विपत्तिलाई अवसरमा बदल्ने अठोट पनि कायमै छ

भनिन्छ जसरी हरेक अँध्यारो रातपछि 

एउटा नयाँ बिहान आउँछ,

एउटा नयाँ परिवर्तन जन्मिन्छ चेतना फैलाउछ।।


आजको पीडाले पनि 

हामीलाई अझ बलियो बनाउनेछ

भोलिको समय सुरक्षित बनाउनेछन

भोलिको नेपाललाई 

अझ सचेत र दृढ बनाउनेछन्।।


हामी हराएकाहरूलाई कहिल्यै बिर्सनेछैनौँ। 

उनीहरूको सम्झनालाई हृदयमा राखेर 

पुनर्निर्माणको बाटोमा अघि बढाउनेछौँ।

हामी फेरि उठ्नेछौँ, 

एकजुट भएरै भएपनि उठ्नेछौँ।

आफ्ना सपना सजाउनेछौँ


किनकि यो अन्त्य होइन, 

सुरुवात पनि हैन 

यो नेपालीको दृढपन हो।

हामी फेरि उठ्नेछौँ।।

✍️ हेम चन्द

Tag:

#NepalStrong #WeWillRiseAgain। #हामी_फेरि_उठ्नेछौँ #August26NepalFlood