नेपालमा माेरिङ्गा, सितलचिनी, सँजिवन वा मुङ्गवा नामले चिनिने Moringa oleifera एक बहुउपयोगी र चमत्कारिक औषधीय गुण भएको वनस्पति हो। यो द्रुत गतिमा बढ्ने र खडेरी सहन सक्ने रूख वर्गमा पर्छ। यस जर्नलमा नेपालमा सितलचिनीको ऐतिहासिक उपस्थिति, यसको बढ्दो लोकप्रियता, स्वास्थ्य सम्बन्धी फाइदाहरू र विस्तृत खेती प्रविधिबारे विस्तृत रूपमा चर्चा गरिएको छ।
| व्यावसायिक रूपमा गरिएको सितलचिनी (Moringa) को व्यवस्थित रोपण र खेती. Source: Pranita Thorat / Getty Images |
१. परिचय र नेपालमा यसको ऐतिहासिक उपस्थिति
ऐतिहासिक रूपमा हेर्दा सितलचिनी नेपालको तराई, भित्री मधेस र तल्लो पहाडी क्षेत्रका रैथाने भूभागहरूमा वर्षौँदेखि प्राकृतिक रूपमै उम्रने र हुर्कने गरेको पाइन्छ। सुरुवाती दिनहरूमा यसलाई केवल एउटा साधारण पारिवारिक उपभोगको बोटका रूपमा लिइन्थ्यो, जहाँ यसको लामो कोसा (Drumsticks) लाई टिपेर रैथाने तरकारी वा अचार बनाइने गरिन्थ्यो।
तर, यसको पात वा अन्य भागको व्यावसायिक र औषधीय महत्त्वबारे धेरैलाई ज्ञान थिएन। जसका कारण यो लामो समयसम्म नेपालमा एक "अल्प-उपयोग गरिएको बालीविरुवा" (underutilized crop) को रूपमा रहिरह्यो। ग्रामीण भेगमा कहि कतै यसलाई घरको आँगन वा खेतको कान्लामा छहारी र बारको रूपमा मात्र प्रयोग गर्ने चलन थियो।
विगत एक-डेढ दशकयता विशेष गरी सन् २०१० पछि विश्वभर "superfood" असाधारण पोषणयुक्त खानाको लहर चल्यो। यसको प्रत्यक्ष प्रभाव दक्षिण तथा दक्षिणपूर्वी एसियामा पनि पर्यो र जनचेतनाको विकाससँगै त्यस ठाउँमा सितलचिनीले अन्तर्राष्ट्रिय लोकप्रियता बढ्दै नेपालमा पनि सन् २०१४/१५-२०२० सम्म मोरिङ्गा सितलचीनी को खेती लोकप्रिय हुन पुग्यो। ग्रामीण हाटबजारमा समेत यसको कोसा तरकारीले अभूतपूर्व लोकप्रियता हासिल गर्यो।
पहिले केवल तराईको जंगल वा कान्लामा सीमित यो वनस्पति अहिले निम्न रूपमा उपभोग र लोकप्रिय हुन थालेको छ:
- तरकारी र अचारको रूपमा: यसको कमलो कोसा (Drumstick) र पातलाई स्वादिष्ट र पोषिलो तरकारीको रूपमा खाइन्छ। विशेष गरी केही उपत्यका, तराई तथा भावर क्षेत्रका समुदायमा यसको क्षणिक प्रयोग हुदै आएको थियो।
- पाउडर (धूलो) को रूपमा: ताजा पातहरूलाई छहारीमा सुकाएर बनाइएको धूलो (Moringa Powder) अहिले नेपाली बजारमा स्वास्थ्यवर्धक सप्लिमेन्टका रूपमा निकै महँगो मूल्यमा बिक्री हुने गर्छ। यसलाई तातो पानी, जुस वा दालमा मिसाएर खाने चलन छ।
- चिया र क्याप्सुल: व्यावसायिक फार्महरूले यसको पातको हर्बल चिया (Moringa Tea) र आयुर्वेदिक क्याप्सुलहरू बनाएर बजारमा पठाइरहेका छन्, जसको माग उच्च शहरिया वर्गमा तीव्र छ।
३. औषधीय तथा पोषणसम्बन्धी फाइदाहरू
सितलचिनीलाई प्रकृतिले दिएको बहुमूल्य उपहार मानिन्छ किनभने यसको पात, फूल, कोसा, बिउ र जरा सबै प्रयोगमा आउँछन्।
- पोषक तत्वको भण्डार: यसमा दूध भन्दा बढी क्याल्सियम, सुन्तला भन्दा बढी भिटामिन 'सी', र केरा भन्दा बढी पोटासियम पाइन्छ।
- रोग प्रतिरोधात्मक क्षमता: यसमा प्रचुर मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरको प्रतिरक्षा प्रणाली (Immunity) लाई बलियो बनाउँछ।
- सुगर र प्रेसर नियन्त्रण: यसले रगतमा ग्लुकोजको मात्रा र उच्च रक्तचाप (Blood Pressure) लाई सन्तुलनमा राख्न मद्दत गर्छ।
- पाचन प्रणालीमा सुधार: फाइबरको मात्रा बढी हुने भएकाले यसले कब्जियत र ग्यास्ट्रिक जस्ता समस्यामा राहत दिन्छ।
| बजारमा अत्यधिक माग रहेको सितलचिनीको आयुर्वेदिक धूलो (Moringa Powder). Source: rostovtsevayulia / Getty Images |
४. सितलचिनीको विस्तृत खेती प्रविधि (Full Cultivation Guide)
नेपालको भौगोलिक अवस्था अनुसार सितलचिनीको व्यावसायिक खेती गरेर कृषकहरूले थोरै लगानीमा राम्रो आम्दानी लिन सक्छन्। यसको खेती गर्दा ध्यान दिनुपर्ने मुख्य चरणहरू तल उल्लेख गरिएको छ:
क) हावापानी र माटो
- हावापानी: यो उष्ण र उप-उष्ण (Tropical & Sub-tropical) हावापानीमा सप्रने बाली हो। नेपालको तराई, भित्री मधेस र समुद्र सतहदेखि १,२०० मिटरभन्दा कम उचाइ भएका पहाडी खोँचहरू यसका लागि उत्तम मानिन्छन्। यसले बढी गर्मी र खडेरी सहन सक्छ तर तुसारो वा अत्यधिक चिसो सहन सक्दैन।
- माटो: पानी नजम्ने, खुकुलो र बलौटे दोमट माटो (Sandy loam soil) यसका लागि सबैभन्दा उपयुक्त हुन्छ। माटोको पीएच (pH) ६.२ देखि ७.० सम्म हुनु राम्रो मानिन्छ।
ख) प्रसारण विधि (Propagation)
सितलचिनी दुई तरिकाबाट सार्न सकिन्छ:
- बिउबाट: बिउलाई सिधै खेतमा वा प्लास्टिक पोखरा (Polybag) मा उमारेर बेर्ना तयार गर्न सकिन्छ। बिउ छिटो उम्रियोस् भन्नका लागि २४ घण्टा पानीमा भिजाएर छर्नु पर्छ।
- हाँगाको कटिङबाट (Stem Cutting): छिप्पिएको बोटबाट १ मिटर जति लामो हाँगा काटेर सिधै माटोमा गाडेर पनि नयाँ बोट निकाल्न सकिन्छ। यो विधिबाट छिटो फल लाग्छ।
ग) दुरी र सार्ने समय
- समय: नेपालको सन्दर्भमा मनसुन सुरु हुनु अगाडि (जेठ-असार) बेर्ना सार्ने उपयुक्त समय हो।
- दुरी: यदि पात मात्र उत्पादन गर्ने हो भने बाक्लो (१ फिट गुणा १ फिट) को दुरीमा लगाउन सकिन्छ। तर, कोसा (ड्रमस्टिक) उत्पादनका लागि बोटदेखि बोटको दुरी कम्तीमा २.५ मिटर देखि ३ मिटर राख्नु पर्छ।
घ) काँटछाँट (Pruning)
सितलचिनी निकै चाँडो बढ्ने रूख हो। बोट ३-४ फिट अग्लो भएपछि यसको टुप्पो काटिदिनु पर्छ (Pinching)। यसो गर्दा बोट धेरै अग्लो हुन पाउँदैन र वरिपरि धेरै हाँगाबिँगाहरू फैलिन्छन्, जसले गर्दा पात र कोसा बढी उत्पादन हुन्छ र टिप्न पनि सजिलो हुन्छ।
ङ) बाली संकलन (Harvesting)
- पात: बोट सारेको ३ देखि ४ महिनापछि नै पातहरू काट्न वा टिप्न योग्य हुन्छन्। बर्षमा ३-४ पटकसम्म पातको कटानी गर्न सकिन्छ।
- कोसा: बिउबाट लगाएको बोटले ६ महिनादेखि १ वर्षभित्र फल (कोसा) दिन सुरु गर्छ। कोसाहरू कमलो र हरियो छँदै टिप्नु पर्छ, धेरै छिप्पिएमा तरकारीका लागि अयोग्य हुन्छन्।
0 Comments